ताप्लेजुङ,पौष २४ गते ।प्रसिद्ध तीर्थस्थल पाथीभरा सम्बन्धि सल्लाह , सुझाव संकलनका लागि विभिन्न स्थानमा सुझाब पेटिका राखिने भएको छ । विभिन्न पृष्ठभुमि, भुमिका र अनुभव भएका ग्रहणयोग्य सल्लाह , सुझावका लागि ४ वटा सुझाब पेटिका राख्ने तयारी गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्वाङका अनुसार सदरमुकाम फुङ्लिङमा रहेको समितिको कार्यालयमा एक थान , काफ्लेपार्टी क्षेत्रमा एक थान , माथिल्लो फेदीमा रहेको प्रहरी कार्यालय छेउमा एक थान र मन्दिर परिसरमा एक थान गरि कुल ४ थान पेटिका राखिनेछन् ।
क्षेत्र विकास सतिलाई स्थानीय तथा भक्तजनले सुझाव संकलन गर्न पेटिकाको व्यावस्थापन गरिदिन सल्लाह प्रदान गरेकाले आफुहरुले पहिलो चरणमा ४ वटा मात्र व्यावस्था गरेको र आगामी दिनमा थप्नु पर्ने स्थिती देखिएमा थप गरिने कार्यकारी निर्देशक हाङ्वाङले वताउनुभयो ।